नेपालगन्ज ६ फागुनः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने भएकाछन् ।
कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण भोली प्रजातन्त्र दिवसका अवसरमा रिहा हुन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । जसमा अरुणको समेत नाम समावेश छ।
सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुणको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले बताएको छ । चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन पनि पेस गरेका थिए ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।
उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । सोही मुद्दामा सांसद चौधरीसहीत तीन जनामाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १८ हजार ४३२ रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट गत माघ १९ गते पक्राउ गरिएको थियो ।
चौधरीले सुनुवाइको मौका समेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुबै रिटमा अन्तरिम आदेश भएन ।
त्यसपछि प्रजातन्त्र दिवसको अवसरमा उनलाई छुटाउने तयारी गरिएको हो । २०६६ भदौ ३ मा ट्रयाक्टर जलाएको र कैद भुक्तान नगरेको भन्दै पक्राउ परेका अर्का वीरबहादुर चौधरीलाई सजाय मिनाहाको तयारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि केहीलाई माफी दिने फायल पेस भएको बताए ।
थप समाचार
नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई नेपालगन्जदेखि काठमाण्डौँबाट धनगढी लगियो