कारबाहीका लागि ठगि मुद्दामा अनुसन्धान भइरहेकोछ : प्रहरी
नेपालगन्ज १५ पुष : नेपालगन्जको राँझा चोकबाट प्रहरीले सुन भन्दै बरामद गरेको बस्तु फलाम भएको पुष्टि भएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरका अनुसार बरामद गरिएको सुन जस्तो बस्तु परीक्षण गर्दा ‘नक्कली सुन’ रहेको पुष्टी भइसकेको बताए ।
बरामद गरिएको उक्त सुनजस्तो बस्तुमा बाहिर ‘गोल्ड १ किलो फाईन गोल्ड ९९९.९’ लेखिएको थियो । सेतोखरीसंग कुरा गर्दै प्रहरी निरीक्षक घर्तीमगरले भने–‘सुन भएको आशंकामा उक्त धातुलाई बिहीबार चेकजाँच गर्दा पुरै नक्कली रहेको पाइयो । उनले अगाडी थपे– ‘यो धातुको तौल ६ सय ग्राम मात्र रहेछ, सुनचाँदी ब्यवसायी संघ कहाँ लगेर चेकजाँच गर्दा पुरै नक्कली रहेको पाइयो,’ उनले भने ‘बाहिरबाट सुन जस्तो देखिएपनि भित्र त फलाम मात्र रहेछ ।’
प्रारम्भिक अनुसन्धान गर्दा पक्राउ परेका युवाले डोल्पा घर भएका रविन्द्र रोकालाई बार्गेनिङ्ग गरि ठूलो रकममा विक्री गर्न लागेका थिए । उनीहरुले डोल्पाका रविन्द्रसंग १० लाख ५० हजारमा उक्त नक्कली सुन विक्री गर्न सहमति भइ केही नगद रकम लिएको र बाँकी पछि दिने सहमति भएको पाइएको प्रहरी निरीक्षक घर्तीमगरले सेतोखरीलाई जानकारी दिए ।
सुन भनेर नक्कली सुन बेच्ने र ठगी गर्ने उनीहरुको योजना असफल भइसकेको छ । पीडित भनिएका डोल्पाका रविन्द्रसमेत प्रलोभनमा परि सस्तोमा किन्न खोज्दा दोषी पाइएकोले उनलाई समेत कारबाही गरिनेछ । प्रहरी निरीक्षक घर्तीमगरले भने –‘पक्राउ परेकाको म्याद थप गरि ठगी मुद्दामा कारबाही गर्ने गरि अनुसन्धान अगाडी बढाइएकोछ । सुन जस्तो देखिने यो धातु कहाँबाट ल्याइएको र कहाँ लैजान थालिएको भन्ने कुरा अझै खुलेको छैन ।’
राँझामा अबैध रुपमा सुनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले जाजरकोट बारेकोट गाँउपालिका वडा नम्बर– ६ निवासी २२ वर्षका राजु कार्की र सोही गाउँपालिका वडा नम्बर ८ का २९ वर्षीय पुर्णबहादुर बिकलाई पक्राउ गरेको थियो ।
बुधबार बेलुका ८ बजेतिर उनीहरु पक्राउ परेपनि प्रहरीले बिहीबार दिउँसो मात्र घटना उक्त सार्वजनिक गरेको छ । उनीहरुका साथबाट एक किलो सुनको बिस्कुट, २ लाख ७७ हजार र ४ लाखको चेक एक थान समेत बरामद गरेको थियो ।
यसअघि नेपालगन्ज विमानस्थलबाट गत भदौ १८ गते पनि चार किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । श्री एयरको जहाजमार्फत काठमाडौँबाट नेपालगन्ज आएका मोरङका दुई युवाको साथबाट चार किलो सुन बरामद गरिएको थियो ।
थप समाचार