आधिकारीक उम्मेदवार म हुँ अलमलमा नपर्नुहोस् : हमाल, चार महिनादेखी तयारी गरिरहेको छु, म ब्याक हुँदैन : कुर्मी
नेपालगन्ज १७ फागुन : नेपाली काँग्रेस बाँकेको निर्वाच विहीबार हुदैँछ । निर्वाचनको पूर्वसन्ध्यामा संस्थापन (शेरबहादुर देउवा) पक्षबीचको आन्तरिक विवाद सतहमा आएपछि बाँके काँग्रेस निर्वाचनको राजनीति थप पेचिलो बन्दै गएको छ । निर्वाचनको मुखमा संस्थापन(देउवा) पक्षको आधिकारिक उम्मेदवार को भन्ने विषयमा स्वयम सभापतिका उम्मेदवार र पदाधिकारीमा मात्र होइन जिल्लाका नेता तथा कार्यकर्ता समेत दोधारमा परेकाछन् ।
यही विवादले सिर्जना गरेको दोधारको राजनीतिले जिल्ला निर्वाचनमा देउवा पक्षको आधिकारिक उम्मेदवार को हो भन्ने विषयलाई लिएर संस्थापनका नेताद्वय सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मीबीच गहिरो ध्रुविकरण समेत बढेकोछ ।
यसअघि सोमबार मात्रै नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले सुरेन्द्रबहादुर हमाल नै संस्थापन(देउवा) पक्षको आधिकारिक उम्मेदवार भएको घोषणा गरेपछि देउवा पक्षका यी दुईबिच ठूलै तरङ्गल्याउँदा किचलो बढेको हो । निर्वाचनको मुखमा संस्थापनभित्र आधिकारिक सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा शीर्ष नेताहरुबिचको टकरावले संस्थापन पक्षलाई सकस मात्र पैदा भएको छैन उनीहरुको निर्वाचन गतिविधि समेत प्रभावित बनेकोछ । निर्वाचनको मुखमै उनीहरु आधिकारितामै अलमलिएका मात्र छैनन आ–आफनै दावि गरिरहेकाछन् ।
यही अलमलिएको काँग्रेस बाँकेको राजनीतिलाई लिएर देउवा पक्षबाट काँग्रेस बाँकेको सभापति पदका उम्मेदवारद्वय हमाल र कुर्मीले मङ्गलबार छुट्टाछुट्टै पत्रकार सम्मेलन समेत गरेकाछन् । उनीहरुले पत्रकार सम्मेलन मात्र गरेका छैनन् देउवा पक्षको आधिकारिक उम्मेदवार आफू भएको दावि गर्दै आफू निकट नेता, कार्यकर्ता तथा पदाधिकारीहरुलाई दोधारमा नपर्न आग्रह गरिरहेकाछन् ।
बिहान गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता बादशाह कुर्मीले आफु चुनावी मैदानमा धेरै अगाडी बढिसकेको बताउँदै आफू नै आधिकारिक उम्मेदवार भएको दावि गरे । उनले भने–‘म धेरै अगाडी बढिसकेको छु, अब म कुनैपनि हालतमा ब्याक हुँदैन, मलाई सबै नेता, कार्यकर्ताहरुले अगाडी बढ्न भनिसक्नु भएको छ ।’
बाँके क्षेत्र नम्बर ३ को अधिवेशन सम्पन्न भएकै दिन आफुले पत्रकार सम्मेलन गरेर जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘मैले नै आधिकारीक उम्मेदवार हो भनेर घोषणा गरेको हो, त्यो बेलामा निर्वाचन सर्यो, त्यो दिनदेखी म लाग्दै आएको छु, अहिले कसरी आयो थाहा छैन, म संस्थापन पक्षकै आधिकारीक उम्मेदवार हो, चार महिनादेखी तयारी गरिरहेको छु, म अगाडी बढिसकेको छु ।’
अब आफु ब्याक हुने अवस्थामा नरहेकको भन्दै उनले भने ‘म संस्थापनको उम्मेदवार हो, म लड्छु, मैले उम्मेदवारी दिनुभन्दा पहिले सूचना हुनुपथ्र्यो, अनि म आधिकारिकता मान्थ्ये,’ उनले अगाडी थपे ‘म अहिले मान्दैन र हाम्रा साथीहरु पनि कोही मान्ने वाला छैनन् ।’
पत्रकार भेटघाटमा उपस्थित भएका काँग्रेस संस्थापन पक्षका नेताहरुले सभापतिका उम्मेदवार कुर्मीलाई ब्याक नहुन सुझाव दिएका थिए । निर्वाचनका लागि संस्थापनबाट आफुहरुले कुर्मीलाई अगाडी सारेर प्रचार प्रसार गरिसकेको उनीहरुको भनाई छ ।
कुर्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस बाँकेका उपसभापति फुलाराम थारु, पार्टीका नेता राजकुमार बर्मा, क्षेत्र नम्बर–३ का सभापति मोहम्मद नक्की खाँ, क्षेत्र नम्बर–१ का पुर्वसभापति माधवराम खत्री, प्रदेश सभा–३ ‘क’ का सभापति केशव शाह, प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्य, राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर राना, बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, जानकी गाउँपालिका सभापति दयाराम यादव लगायतले सभापतिका उम्मेदवार कुर्मीलाई अगाडी बढ्न सुझाव दिएका थिए ।
कुर्मीको पत्रकार सम्मेलन लगत्तै मङ्गलबार दिउँसो नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले सुरेन्द्रबहादुर हमाल नै संस्थापन(देउवा) पक्षको आधिकारिक उम्मेदवार भएको औपचारिक रुपमा घोषणा गरे ।
उनले केन्द्रबाट शेरबहादुर देउवा निकट नेतामार्फत आधिकारीक रुपमा आएको निर्देशन अनुसार आफुले जिल्ला सभापतिको उम्मेदवार हमाललाई घोषणा गर्नु परेको प्रष्ट्याए । ‘पार्टीका प्रवक्ता एवम् शेरबहादुर देउवा पक्षका जिम्मेवार नेताले नै मलाई सुरेन्द्र हमाल आधिकारीक उम्मेदवार हो भनेर भनिसक्नु भएको छ,’ बाल्मिकीले अगाडी थपे ‘केन्द्रबाट मलाई खबर आयो, त्यही कुरा मैले बताएको हुँ ।’
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्का उम्मेदवार बादशाह कुर्मीलाई आसन्न संसदीय निर्वाचनमा हेर्ने र बोलाएर सम्झाउन आफुलाई बताएको पनि केन्द्रीय सदस्य बाल्मिकीले सुनाए । ‘टिमभित्रको कुरा हो, यसमा कागज या प्रमाण पेश गर्ने कुरा हुदैन,’ पत्रकारको जिज्ञासामा उनले बताए ।
पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार हमालले केन्द्रीय सभापति शेरबहादुर देउवा प्यानलको आधिकारीक उम्मेदवार आफुलाई बनाएको हुँदा कार्यकर्ताहरु अब धेरै अलमलमा पर्न नहुने बताए । ‘हामी पहिला दुई जना उम्मेदवार मिल्न सकेको भए राम्रो हुन्थ्यो, तर नमिलिसकेपछि त केन्द्रले निर्णय गर्नुपर्ने थियो, केन्द्रले निर्णय गर्यो, अब यसलाई मानेर हामी अघि बढ्नुपर्छ,’ हमालले भने ।
पार्टीका नेताले भने अनुसार आफुहरु हिँड्ने बताउँदै हमालले अगाडी थपे, ‘केन्द्रिय सदस्यले मलाई नै आधिकरिक घोषणा गरिसकेपछि बादशाह जीले मलाई सहृदय समर्थन गर्छु भन्नु पथ्र्यो, केन्द्रले बादशाह जीलाई आधिकारिक भनेको भए मैले पनि त्यसलाई मानेर अघि बढ्थे, मैले समर्थन गर्थे, तपाईंहरु सबैलाई थाहा छ, म खेलकुदको मान्छे, नियम कानूनलाई मान्छु ।’
हमालको पत्रकार सम्मेलनमा काँग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, पुर्वसभापतिद्वय गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ता, प्रदेश सभा–२ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमाल, संस्थापन पक्षबाट पदाधिकारी र सदस्य पदका केही उम्मेदवार, काँग्रेस नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
यता संस्थापन (देउवा) पक्ष आधिकारिक उम्मेदवार को भन्ने विषयमा अल्मलिइरहँदा नेपाली काँग्रेस संस्थापन ईतर(कोइराला) पक्षबाट बाँके काँग्रेस सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेल समूह मतदाता भेटघाट कार्यक्रम द्रुत गतिम जारी नै राखेका छन् ।
जिल्ला निर्वाचनलाई लक्षित गर्दै संस्थापन इतरपक्षबाट सभापतिका उम्मेदवार गौडेलको नेतृत्व टोलिले राप्तीसोनारी र नरैनापुर क्षेत्रका मतदाताहरुलाई भेटेको हो ।
‘भेटघाटका क्रममा मतदाताहरुबाट सकारात्मक ‘रेस्पोन्स’ पाउँदा उत्साहित बनेका छौं’ सभापतिका उम्मेदवार गौडेलले अगाडी थपे, ‘हाम्रो टिमबाट क्षेत्रीय प्रतिनिधिज्यूरुहरुले पार्टीमा रुपान्तरणको आशा गर्नुभएको छ, उहाँहरुले हामीलाई हौसल दिइरहनुभएको छ ।’
सभापतिको दावेदार देउवापक्षको आधिकारिक उम्मेदवार विवादमा रुमलिरहेको बेला संस्थापन ईतर पक्षबाट सभापतिका उम्मेदवार गौडेल पहिलो चरणमै सभापति पदमा बाजी मार्ने तयारीमा लागेकाछन् । निर्वाचनको मुखमै देउवापक्षभित्र चर्किएको अन्तरद्वन्द्वले बाँके काँग्रेसको राजनीतिमा कस्तो असर पर्ला भन्दै सर्वत्र चासो र चर्चा भइरहेकोछ । जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम प्रवक्ता अर्जुन ओलीका अनुसार फागुन १९ गते बाँके काँग्रेसको निर्वाचन हुँदैछ । जहाँ जिल्ला निर्वाचनमा एक हजार ४ सय ९३ प्रतिनिधिले मत हाल्नेछन् । वडा, पालिका, प्रदेश र क्षेत्रको निर्वाचनको नतिजा अनुसार बाँकेमा संस्थापन (शेरबहादुर देउवा) टिमले धेरै स्थानमा जितेको छ ।
थप समाचार
बालुवाटारबाट फोन: सुरेन्द्र देउवापक्षका आधिकारिक उम्मेदवार, कुर्मीलाई सम्झाउनु होला