नेपालगन्ज २८ फागुन : नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएकोछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । यही चैत १० देखि १४ गतेसम्म हुने प्रतियोगिताका लागि तयारी तीब्र रुपमा अघि बढइएकोछ ।
सोहीक्रममा पाँच तारे होटल सेन्ट्रल प्लाजा र बाँके जिल्ला भलिबल संघबीच प्रतियोगिताका लागि सहकार्य भएको छ । प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा हुनेछ ।
शुक्रबार भएको सम्झौतामा सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भीकुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गरेका थिए । सम्झौताका समयमा सेन्ट्रल प्लाजाका बजार व्यवस्थापक रमेश पाठक र क्रिएटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेर्टिङ अफिसर सौगात विक्रम शाहको उपस्थिति थियो ।
‘प्रधानमन्त्री कप जस्तो प्रतिष्ठित प्रतियोगितासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।’ सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भीकुमारले भने–‘खेल पर्यटन पनि समग्र पर्यटनको विकास एवं आर्थिक समृद्धिको आधार भएको हुँदा प्रधानमन्त्री कपसँग सहकार्य गरेका हौं ।’
राष्ट्रिय स्तरका खेलाडीहरुको सम्मान स्वरुप स्तरीय हस्पिटालिटीमा जोड दिएको प्रधानमन्त्री कपका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले बताए ।
नीजि क्षेत्रको सहभागिता बिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा आयोजकले नीजि क्षेत्रलाई बिशेष जोड दिने गरेको छ । साथैं नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई जोड्न पनि हामीले यो पाइला चालेका हौं ।
कोहलपुरमा खेलाडीको बसोबास तथा नेपालगन्जमा खेल सञ्चालन हुँदा दुवैं सहरको आर्थिक पक्ष चलायमान हुने अपेक्षा गरेका छौं । त्यसले नेपालगन्ज कोहलपुर सडक खण्डले बिभिन्न जातीय, धार्मिक र साम्प्रदायिक क्लस्टरलाई पनि जोड्नेछ ।
नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोराना महामारीका कारण केहि समय ढिला हुन गएको हो ।
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रुपमा विकास गर्नका लागि संघले प्रतियोगितालाई दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनशीपका रुपमा स्थापित गराउने लक्ष्य राखेको बताउँदै अध्यक्ष ठकुरीले भने–‘ यसै अनुरुप स्तरीय हस्पिटालिटीमा जोड दिएका हौं ।’
अध्यक्ष ठकुरीले भने–‘प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ । आउने दिनमा थप सहभागी टोलीका बारेमा जानकारी गराइनेछ ।’
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।
थप समाचार
चैत्र दोस्रो साता पिएम कप, तयारीमा जुट्यो संघ