ईप्रका तत्कालन पुनःस्थापना गर्न बाँके काँग्रेसको माग
नेपालगन्ज ६ चैत्र : बाँकेको नरैनापुरमा ईलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न पहल हुन थालेको पनि वर्षौं वितेकोछ । पछिल्लो दुई वर्षदेखि ईप्रका पुनःस्थापनाका लागि चौतर्फी माग र दावाब बढ्दो छ । तर, राज्यको उपेक्षाका कारण वर्षेनी नरैनापुरबासीले आश्वासन मात्र पाउने गरेकाछन् ।
हरेक वर्ष ईलाका प्रशासनसहित अन्य कार्यालय पुनःस्थापनाका लागि पटक–पटक पहल र डेलिगेशन नभएको भने होइन । तर, ईलाका प्रशासनका लागि आवश्यक पर्ने जनशक्तिसहितको पूर्वाधारमा राज्यले मौनता साँधेर बसेपछि उनीहरुको माग र पहल विफल हुँदै आएकोछ ।
राज्यको सशक्त र प्रभावकारी उपस्थिती नरहेको नरैनापुरमा नागरिकता लगायत सरकारी सिफारिस जस्ता आधारभुत अत्यावश्यक सेवा लिन नरैनापुरबासी नेपालगन्ज पुग्नु पर्ने विवशता अझैँ कायमै रहेकोछ ।
सडक तथा अन्य भौतिक पूर्वाधारबाट टाढा रहेका बेला ईलाका प्रशासन कार्यालय सहितका अन्य सरकारी निकाय नरैनापुरमा सञ्चालनमा रहेका थिए । तर, जननिर्वाचित भएर आएपछि नरैनापुरले ईलाका प्रशासन कार्यालय सहितका अन्य सरकारी कार्यालय पाउन सकेन ।
आजभन्दा ७ वर्ष अघि स्थानीय बासिन्दा र कार्यालयबीच भएको विवादका कारण शान्ति सुरक्षाको कारण देखाई नेपालगन्जमा खुम्चिएको नरैनापुर ईलाका प्रशासन कार्यालयसंगै अन्य सरकारी कार्यालय पुनःस्थापना हुन नसक्नुले नरैनापुरका जनतामाथि राज्यले अन्याय गरिरहेकोछ ।
यतिबेला नरैनापुरले विकास र पूर्वाधारमा फड्को मारिसकेकोछ । कालोपत्रे सडकले सोझै सदरमुकाम नेपालगन्ज जोडेकोछ । विजुली, ईन्टरनेट र बैंक समेत पाएको नरैनापुरमा ईप्रकासहितको सरकारी कार्यालयको पुनःस्थापना नहुँदा सो क्षेत्रका सेवाग्राही नेपालगन्ज सदरमुकाम धाउन बाध्य भइरहेकाछन् । यसले गर्दा सेवाग्राहीको खर्च बढेको छ नै राज्यले उपलब्ध गराउने सेवासुविधाबाट त्यहाँका नागरिक बञ्चित समेत हुने गरेकाछन् ।
गत वर्षदेखि नरैनापुरमा ईलाका प्रशासन कार्यालय, छोटी भन्सार, नापी, पशु क्वारेटाइन पुर्नस्थापना र सेवा प्रवाह गर्नका लागि बहस, पहल चुलिदैँ आएकोछ । तर, जिल्ला प्रशासन कार्यालय बाँकेले आवश्यक तयारी गरेपनि गृहमन्त्रालयले चासो नदिँदा नरैनापुरमा सरकारी कार्यालय पुनःस्थापना हुन नसकेको हो ।
गत वर्ष जेठ ८ गते र असोज १५ गते सम्वाद समुहले पहल गर्दा तत्कालिन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी भएपनि त्यहाँ गृहमन्त्रालयबाट अधिकृत नपठाईदिँदा ढिलाई भएको स्वीकारेका थिए ।
यसरी राज्यले नै नरैनापुरलाई उपेक्षा गर्दा ईलाका प्रशासन कार्यालयसहितका अन्य सरकारी कार्यालय पुनःस्थापना हुन सकिरहेको छैन । यही पहल र आवश्यकतालाई मध्यनजर गर्दै नरैनापुरमा ईलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न भन्दै नेपाली काँग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएकोछ ।
काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको नेतृत्वमा आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेको एक टोलीले नरैनापुरमा अबिलम्ब ईलाका प्रशासन कार्यालय पुनःस्थापनाका लागि प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सभापति गौडेलले नरैनापुरका जनता सरल, सहज र छिटो छरितो सेवा पाउने अधिकारबाट बञ्चित भएको भन्दै एक साताभित्र नरैनापुरमा ईलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न ध्यानाकर्षण गराए ।
नागरिकता लगायत सामान्य प्रशासनिक कामका लागि लामो दूरी तय गरेर नेपालगन्ज धाउनुपर्ने बाध्यता स्थानीयले ब्यहोर्नुपरेको औंल्याउँदै सभापति गौडलेलले नरैनापुरबासीलाई झञ्झटिलो अवस्थाबाट छुटकारा दिन वडा नम्बर– ५ मटेहियामा तत्काल ईलाका प्रशासन कार्यालय पुनःस्थापना हुनुपर्ने बताए ।
काँग्रेस क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति पोषण केसीले पहिले भन्दा परिस्थिति सबै कोणबाट अहिले सहज बनिसकेकाले नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई समेत पायक पर्ने हिसाबले अबिलम्ब ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न प्रजिअ खत्रीको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले छिटो भन्दा छिटो नरैनापुरको उपयुक्त स्थानमा ईलाका प्रशासन कार्यालय पुनःस्थापना गरिने आश्वासन दिए ।
‘तपाईंहरुको माग छिटो भन्दा छिटो सम्बोधन हुने गरी पहल गरिरहेका छौं, गृह मन्त्रालयमा कर्मचारी माग गरिसकेका छौं, कर्मचारीको व्यवस्था भयो भने यथाशक्य नरैनापुरको उपयुक्त स्थानमा कार्यालय पुनःस्थापना गर्छौं,’ प्रजिअ खत्रीले भने ।
त्यसक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम नरैनापुर–५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कार्यालयका लागि आफ्नो निजी भवन पाँच महिनासम्म निःशुल्क उपलब्ध गराउने समेत बताएका थिए ।
ज्ञापनपत्र बुझाउन काँग्रेस बाँके सभापति गौडेल, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, ईशाक जोलाहा, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव विनोदकुमार थारु, प्रदेश १ (क) का सभापति लक्ष्मण थारु, क्षेत्र नम्बर– १ का क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, क्षेत्र नम्बर– १ का निवर्तमान सचिव डिल्ली गिरी, नरैनापुर पालिका सभापति मेराज अहमद खाँ, नरैनापुर गाउँपालिका वडा नम्बर– ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, कोहलपुर नगर सचिव गोविन्द वाग्ले लगायत नेता कार्यकर्ता पुगेका थिए ।
थप समाचार