काँग्रेस बाँके निर्वाचन

काँग्रेस बाँकेको सभापति उम्मेदवारमा को कति बलियो ?

निर्वाचनमा त्रिपक्षिय लडाई


काँग्रेस बाँकेको सभापति उम्मेदवारमा को कति बलियो ?

नेपालगन्ज १८ फागुन : नेपाली काँग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत बिहीबार बाँके जिल्लामा निर्वाचन हुदैँछ । निर्वाचनका लागि जिल्लाका तीन जना नेताबीच कडा प्रतिस्प्रर्धा हुँदैछ । संस्थापन (शेरबहादुर देउवा) पक्षबाट २ जना र संस्थापन इतर (शेखर कोइराला) पक्षबाट १ जना गरि तीन जना नेताबीच त्रिपक्षिय कडा प्रतिस्प्रर्धा हुँदैछ । सभापतिमा आफ्नो वर्चश्व कायम गर्न र मतदातालाई फकाउन सभापतिका दावेदार तीनैजनाले वडा, पालिका, क्षेत्रदेखि केन्द्रसम्म हरसम्भव प्रयास गरेकाछन् ।

संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी निर्वाचन मैदानमा उत्रेका छन् भने संस्थापन इतर (शेखर कोइराला) पक्षबाट एक जना नारायणप्रसाद गौडेल प्रतिस्प्रर्धामा उत्रेकाछन् ।
देउवा पक्षबाट दुई र कोइराला पक्षबाट एक जना सभापतिका उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि नेपाली काँग्रेस बाँकेको राजनीतिमा मात्र होइन काँग्रेस केन्द्रिय राजनीतिमा समेत यसले तरङ्ग ल्याएकोछ ।

त्यसो त बाँकेलाई देउवा पक्षको गढको रुपमा बुझिन्छ तर, पटक–पटक स्थगित गरिएको निर्वाचनले देउवा पक्षबाट एकल उम्मेदवारी ल्याउन सकेन । जसले गर्दा देउवा पक्ष निर्वाचनमा दुई शीरामा चोइटिएकोछ । देउवा पक्षको आधिकारिक उम्मेदवार को ? भन्ने विषय समयमै निराकरण नगरिदिँदा देउवा पक्षको दुई खम्बा हमाल र कुर्मीबीच ध्रुविकरण बढेकोछ ।

अझ निर्वाचनको मुखमै देउवा पक्षबाट आआफ्नै दाविका साथ आधिकारिक उम्मेदवार भएको घोषणाले जिल्लाका नेता, कार्यकर्ता मात्र नभएर मतदाता समेत दोधारमा परेकाछन् । तर, देउवा पक्षबाट सभापतिमा दुई उम्मेदवार भएपछि पदाधिकारी र कार्यसमिति सदस्यको एउटै प्यानल बनाइएकोछ । यसको फाइदा उठाउन भने कोइराला पक्षबाट सभापतिका उम्मेदवार बनेका गौडेल लागिपरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

सभापतिमा तीन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि बाँके काँग्रेस निर्वाचनमा पहिलो चरणमै परिणाम निस्कने सम्भावना छैन । किन भने सभापतिमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ । ५० प्रतिशत बढी मत नआए धेरै मत ल्याउने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

बाँके काँग्रेस निर्वाचनमा कुल एक हजार ४ सय ९३ प्रतिनिधिले मत हाल्नेछन् । यो संख्यालाई हेर्दा बाँकेमा देउवा पक्षको ७० प्रतिशत र कोइराला पक्षको ३० प्रतिशत मतदाता रहेकाछन् । यद्यपी यसअघि भएको वडा, पालिका, प्रदेश र क्षेत्रको निर्वाचनको नतिजा अनुसार बाँकेमा संस्थापन(शेरबहादुर देउवा) पक्षले धेरै स्थानमा जितेको छ ।

सभापति उम्मेदवारमा को कति बलियो ?

बादशाह कुर्मी

काँग्रेस बाँकेको सभापति को बन्छ ? भन्ने चर्चा चलिरहेका बेला सबैभन्दा पहिले आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने नेता हुन् कुर्मी ।

देउवा पक्षबाट सबैभन्दा पहिले आधिकारिक उम्मेदवार आफू रहेको भन्दै कुर्मीले महिनौं अघि पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा मात्र गरेनन् उनी निर्वाचनका लागि नेता, कार्यकर्ता र मतदाता फकाउँदै ब्यापक प्रचार प्रसार गरे ।

कुर्मी संविधान सभा सदस्य समेत रहीसकेका व्यक्ति हुन् भने उनी क्षेत्र नम्बर–३ बाट काँग्रेस महाधिवेशन प्रतिनिधी चुनिएका छन् ।

देउवा गुटको सबैको सहयोग बादशाहलाई नै छ । देउवापक्षका लिडर मानिएका बाँके क्षेत्र नम्बर–१ निवर्तमान सभापति माधवराम खत्री, काँग्रेस बाँकेका वर्तमान उपसभापति फुलाराम थारु, क्षेत्र नम्बर–३ का सभापति मोहम्मद नक्की खाँ, प्रदेश सभा–३ ‘क’ का सभापति केशव शाह, प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्य, पार्टीका नेता राजकुमार बर्मा, नेपालगन्ज नगरसभापति प्रशान्त विष्ट, नेता विरेन्द्र शाह, राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर राना, बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, जानकी गाउँपालिका सभापति दयाराम यादव, राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम नेता लाहुराम थारु लगायतको कुर्मीलाई साथ दिदैँ खटेकाछन् ।

यतिमात्र होइन बाँकेको राजनीतिमा प्रत्येक्ष सरोकार राख्ने नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर समेत कुर्मीलाई साथ र सहयोग गर्न खटेर लागिपरेकाछन् ।

जिल्लाको तीनैवटै क्षेत्रमा नेता कुर्मीको वर्चश्व छ । समानुपातिक दृष्टिकोणले पनि अब बाँकेमा मधेशी नेतृत्व आउनुपर्ने भन्दै उनीहरु लागिपरेकाछन् । यसरी सबैको साथ र सहयोग हुदाँ समेत देउवापक्षबाट आधिकारिक उम्मेदवार कुर्मी नभएको भन्दै घोषणा गराइयो ।

सुरेन्द्रबहादुर हमाल

काँग्रेस निर्वाचनलाई लिएर जिल्ला राजनीतिक बृतमा चर्चा भइरहेका बेला मौन बसेका देउवा पक्षका नेता सुरेन्द्रबहादुर हमाल निर्वाचन मिति नजिकिएपछि अन्ततः काँग्रेस बाँकेको सभापतिमा उम्मेदवारी दिने घोषणा गरे ।

हमालले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट काँग्रेस बाँकेको सभापतिमा उम्मेदवारी दिने र यसका लागि साथ र सहयोग गर्न सबैलाई आह्वान गरे । उनले उम्मेदवारी घोषणा गरेसंगै देउवा पक्षबाट सभापतिका आकांक्षि अन्य नेताहरुको चर्चा झन चुलिएपनि उनीहरुले उम्मेदवारी दर्ता गराएनन् ।

राजनीति र रणनीतिमा चलाख र निर्पुण मानिने बाँके काँग्रेसका नेता हमाल पर्ख र हेरको रणनीति लिए । आफू अनुकुल माहोल बनेपछि उम्मेदवारी घोषणासंगै उनले जिल्लाका वडा, पालिका, क्षेत्र हुदैँ केन्द्रिय नेताहरुलाई रिझाउन भ्याए । आफू निकट नेता, कार्यकतासंगको समन्वय र आश्वासनमा उनी निर्वाचन प्रचारप्रसारमा लागे ।

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका सुरेन्द्रबहादुर हमाल बाँके क्षेत्र नम्बर–२ बाट काँग्रेसको महाधिवेशन प्रतिनिधी समेत हुन् । उनी ओलम्पियन समेत हुन् ।

देउवा पक्षबाट सभापति उम्मेदवार बनेका हमालका लागि बाँकेको न त क्षेत्र नम्बर–१ मा कुनै टिम छ, न त क्षेत्र नम्बर–३ मा टिम छ । उनीसंग केवल क्षेत्र नम्बर–२ मा केही मत मात्रै छ । जिल्लामा सानो टिम, थोरै नेता तथा कार्यकर्ताको साथका बाबजुत उनले जिल्ला हुँदै केन्द्रसम्म आफ्नो प्रभाव जमाएर अन्ततः देउवा पक्षको आधिकारिक उम्मेदवार आफू रहेको औपचारिक घोषणा गराउन सफल भए ।

यो घोषणाले काँग्रेस पार्टी प्रवक्ता डा. प्रकाशशरण महतमात्र होइन काँग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेतले हमलालाई सभापतिमा चाहेको भन्ने ब्याख्या गराइयो ।

सभापति पदमा निर्वाचनमा उत्रेका नेता हमाललाई काँग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, पुर्वसभापतिद्वय गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ता, प्रदेश सभा–२ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमाल, डुडुवा गाउँपालिकाका अध्यक्ष समेत रहेका नरेन्द्रकुमार चौधरी लगायतले साथ दिँदै निर्वाचनमा खटेकाछन् ।

हमाललाई बाँकेबाट काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले साथ र सहयोग गर्न खटेर लागि परेकाछन् ।

नारायण प्रसाद गौडेल

काँग्रेस बाँकेको निर्वाचनको चर्चा चलिरहेका बेला संस्थापन इतर(शेखर कोइराला) पक्षबाट एक्ला उम्मेदवार बनेका नारायण प्रसाद गौडेललाई देउवा पक्ष जस्तो सास्ती भोग्नु परेन । गुटगत द्वन्द्वमा नफसेको कोइराला पक्षका गौडेल समुहले समयमै उम्मेदवार छिनोफानो गरि निर्वाचनको अन्य गतिविधिमा खटिरह्यो ।

क्षेत्र नम्बर– १ का महाधिवेशन प्रतिनिधी चुनिएका गौडेलले महिनौ अघि पदाधिकारी र केही समय अघि सदस्य उम्मेदवारहरुको टुंगो लगाएर ब्यापक प्रचार प्रसारमा छन् ।

नारायण गौडेल समुहमा कोइरला पक्षबाट वर्तमान काँग्रेस बाँकेकी सभापति किरण कोइराला, क्षेत्र नम्बर–१ का सभापति पोषण केसी लगायतका नेता, कार्यकर्ताले साथ दिदैँ खटेकाछन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य सञ्जय गौतम, लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, लुम्बिनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डे र लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुसाल लगायतका नेताहरु साथ र सहयोग गर्न खटेर लागि परेकाछन् ।

थप समाचार

मतदानको पूर्वसन्ध्यामा देउवापक्षमा किचलो : हमाल र कुर्मीको आ–आफ्नै दावि

बालुवाटारबाट फोन: सुरेन्द्र देउवापक्षका आधिकारिक उम्मेदवार, कुर्मीलाई सम्झाउनु होला