विचार

सामुदायिक बिद्यालयः वर्तमान र भबिष्य


सामुदायिक बिद्यालयः वर्तमान र भबिष्य

मनवीर नेपाली

वर्षेनी हजारौंको संख्यामा लाखौं खर्चेर राम्रो शिक्षाको प्रलोभन वा आशामा बिदेशिनु बाध्यता छ । यसले देशको पैसा बिदेश गईरहेको छ, भने देशमा करोडौ खर्चेर सञ्चालनमा रहेका विश्व बिद्यालयहरुमा बिद्यार्थीहरुको अभाव छ ।

सामुदायिक बिद्यालयमा निःशुल्क पढाइ, निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, सेनेटरी प्याड, छात्रवृत्ती, इन्टरनेट सेवा लगायतका थुप्रै कार्यक्रम लागू गरेर सरकारले सामुदायिक बिद्यालयहरुलाई अब्बल बनाउन प्रयास जारी गरिरहेका बेला वर्षेनी यि बिद्यालयमा बिद्यार्थीको संख्या घट्दो क्रममा छ ।

शिक्षा तथा मानवश्रोत विकास केन्द्रका अनुसार आधारभूत तहमा सामुदायिक तर्फ २०७४ मा ५८ लाख ३७ हजार बिद्यार्थी भर्ना भएका थिए भने गत वर्ष ५३ लाख २५ हजार मात्र भर्ना भएका थिए । उता निजीमा सोही तहमा पाँच वर्ष अघि ९ लाख ८० हजार भर्ना भएका थिए भने २०५८ मा १४ लाख ४६ हजार बिद्यार्थी भर्ना भएको तथ्याङ्कले देखाउँछ ।

Kanti Aarogya Hospital Nepalgunj

जनसंख्या घटेको हुनाले बालबालिकाको संख्या पनि घटेकोले गर्दा भर्ना दर पनि घटेको केन्द्रका अधिकारीहरुको भनाई छ । हुन पनि गत वर्ष सामुदायिक तथा निजी बिद्यालयमा भर्ना हुनेको संख्यामा ९ प्रतिशतले कमी आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । हाल आधारभूत तहका कुल बिद्यार्थी मध्ये ७३ प्रतिशत सामुदायिकमा र २७ प्रतिशत निजीमा अध्ययनरत छन । भने ५ वर्ष पहिले ८० प्रतिशत बिद्यार्थी सामुदायिकमा र २० प्रतिशत बिद्यार्थी निजीमा अध्ययन गर्दथे । बि.सं. २०७४ देखि २०७८ सम्मको हिसाव गर्ने हो भने ५ वर्षमा सामुदायिकमा १० लाख बिद्यार्थी घटेको तथ्याङ्क हामी पाउँछौं ।

हाल २७ हजार ८ सय सामुदायिक बिद्यालय मध्ये ४ सय २२ वटामा मात्र नमुना बिद्यालय कार्यक्रम लागू भएको अवस्था छ । नमुना बिद्यालयमा भने बिद्यार्थीको कमी छैन । किन भने नमुना बिद्यालयहरुले थुप्रै प्रकारको अनुदानहरु पउने ब्यवस्था सरकारले गरेको छ । यि बिद्यालयहरुले पुस्तकालय, प्रयोगशाला, भवन, आवासिय सुबिधा, खेल मैदान, घेरवार, बगैचा, खानेपानी र सरसफाईका लागि अनुदान पाउँदछन् ।

सहरी क्षेत्रमा निजी बिद्यालयहरुमा गुणस्तरीय शिक्षा, सरसफाई, नियमित गृहकार्य जाँच, अतिरिक्त कृयाकलापहरुका कारण अभिभावकहरु आकर्षित भएको देखिन्छ र अर्को कुरा सामाजिक हैसियत देखाउनका लागि पनि निजी बिद्यालयहरु अभिभावकको आर्कषणका केन्द्र बिन्दु बनेका छन् ।

अर्कोतर्फ सामुदायिक बिद्यालयहरुमा निजीको हाउँगुजी जस्तै डर पसेको छ । ऊ राम्रो छ । अनि हाम्रोमा उत्कृष्ट केही छैन । र, अर्को कुरा हाम्रो तलब र अन्य खर्च सरकारले दिई राखेकोछ । बिद्यार्थी आए पढाई दिउँला न आए के छ र ? आदि ।

बिद्यालय शिक्षा कक्षा १ देखि कक्षा १२ कक्षामा भर्ना भए पनि बीचैमा कक्षा छाडेर, अनुत्तीर्ण भएर र विविध कारणले पढाई पुरा नगर्ने बिद्यार्थीको संख्या धेरै छ । भर्ना भएका मध्ये १० कक्षासम्म टिकाउदर ५७ प्रतिशत र कक्षा १२ सम्म १७ प्रतिशतमात्र छ । पढाइ छाड्नुको धेरै कारण छन् । ति मध्ये गरिबी नै मुख्य कारण हुने गरेको कुरा धेरै अध्ययनले बताई सकेका छन् ।

वर्षेनी हजारौंको संख्यामा लाखौं खर्चेर राम्रो शिक्षाको प्रलोभन वा आशामा बिदेशिनु बाध्यता छ । यसले देशको पैसा बिदेश गईरहेको छ भने देशमा करोडौ खर्चेर सञ्चालनमा रहेका विश्व बिद्यालयहरुमा बिद्यार्थीहरुको अभाव छ ।

अर्को महत्वपुर्ण कारण भनेको सामुदायिक बिद्यालयहरुका अभिभावकहरु बिद्यालयप्रति त्यति धेरै जिम्मेवार पनि देखिदैनन् । उनीहरुले सोच्दछन् की बिद्यालय पठाएकै छ । पढेर आईहाल्छ नी । शिक्षहरुको धारणा पनि उस्तै छ । नियमन गर्ने निकायले राम्रोसँग र नियमित तरिकाले नियमन नगरिदिंदा शिक्षहरुले सोच्दछन् की पढाए पनि भयो नपढाएपनि भयो । यो सबैका लागि त होईन तर अधिकाँश यस्तै पाईन्छ ।

समस्याहरु त थुप्रै छन् । तर...तर, हामीसँग उपाएहरु पनि छन् । जबसम्म सामुदायिक बिद्यालयहरुलाई अभिभावकहरुले यो मेरो बिद्यालय हो । सरकारको लगानीमा मेरो पनि अंश छ भनेर अभिभावकहरुले बुझ्नु हुँदैन तबसम्म सामुदायिक बिद्यालयहरुको अवस्था यस्तै रहन्छ भन्दा त्यति अत्युक्ती नहोला ।

सामुदायिक बिद्यालयमा निजीमा भन्दा अवसरहरु धेरै छन् । माथि नै भनिसकियो कि नमुना बिद्यालयहरुमा थुप्रै प्रकारको अनुदानहरु पनि आउँछ । अन्य बिद्यालयहरमा पनि सुबिधाहरु प्रसस्तै छन् । जस्तै शुल्क तिर्नु पर्दैन । दलित तथा अन्य बाल बालिकाहरुका लागि छात्रबृत्तीहरुको सुबिधा हुन्छ । अन्य भौतिक श्रोतहरु पनि बलिया र राम्रा हुन्छन् । तालिम प्राप्त शिक्षकहरुको उपलब्धता रहेको हुन्छ ।

- यस प्रकारको अवसरलाई उपयोग गर्नु आजको आवश्यक्ता हो । यसका लागि बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका बालबालिकाहरु आफ्नै बिद्यालयमा पढाउनु पर्ने प्रवाधान हुँदा–हुँदै आफ्ना बालबालिका निजीमा पढाउने र नक्कली अभिभावक बनेर पद ओगट्ने, राजनैतिक बर्चश्वका आधारमा यस्ता समितिहरुमा बस्न मिल्ने, स्थानीय स्तरमा शिक्षक नियुक्ती आफ्नालाई गरिदिनु जस्ता प्रबृत्ती छ । यसलाई आजकै दिनबाट निर्मूल पार्नु पर्दछ । शिक्षा क्षेत्रमा भईरहेको अराजकता र भ्रष्टचारहरु आजैका दिनबाट हटाईनु पर्दछ ।

- धेरै समयको पैरवी र पृष्टपोषण पश्चात हाल पाठ्यपुस्तक बिद्यालयहरुमा पुगेका छन् । ति पाठ्य पुस्तकहरुलाई उचित तरिकाले बितरण गर्ने र सुरक्षित तरिकाले अध्ययन गर्ने र अर्को वर्ष नयाँ बिद्यार्थीलाई उपलब्ध गराउने प्रचलनको विकास आवश्यक छ । अन्यथा हरेक वर्ष करोडौं पैसा पुस्तक छपाईमा खर्च हुने देखिएको छ । यसप्रकारको लाप्रवाहलाई पनि निरुत्साहित गर्न जरुरी छ ।

- आफूले पढाउने बिद्यालयका शिक्षकहरुले आफ्ना छोरा–छोरी सोही बिद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ ।

- आफू बिब्यस वा शिअस जस्ता समिति वा अन्यमा संलग्न भएका अभिभावकका छोरा–छोरी सोही बिद्यालयमा अध्ययन गर्ने नियम कडाईका साथ ल्याउनु पर्ने देखिन्छ । पदका लागि पदमात्रको काम गर्ने हो कि साँच्चैको काम गर्ने हो ? भन्ने प्रश्नहरु पनि आईरहेका छन । अधिकाँश बिद्यालयहरुमा समाजका प्रतिष्ठीत ब्यक्तित्वहरु बिब्यसका अध्यक्ष बनाउने तर, उनीहरुका बालबालिका अन्य निजी बिद्यालयहरुमा पढ्ने गरेका पनि छन् । प्रतिष्ठका लागि मात्र पद चाहिएको हो कि ? वा बिद्यालयमा सहभागि भएपछी बिद्यालयको प्रगतिको कुरा पनि गर्ने ?

- दुर्गमका बिद्यालयहरुका पीडा अझ दुःखदायि छन् । बिद्यालयमा केन्द्रबाट शिक्षकहरु जाने चलन हुन्छ । बिहान बिद्यालय जाने र साँझ पुनः आफ्नो घर वा केन्द्रमा नै फर्कीने प्रबृत्ती अहिले पनि छ । वास्तवमा बिद्यालय घरभन्दा पनि सहज र सुबिधा सम्पन्न हुनु पर्दछ ।

- हामीले भन्ने गरेको वास्तविकता चै बालबालिका संवेदाशील हुन्छन् । उनीहरुलाई धेरै ध्यान दिन आवश्यक छ । र, घरमा सोही अनुसार ब्यवहार पनि अलि–अलि गर्दछौं तर, बिद्यालय गयो भने ः स्वच्छ पिउने पानीको ब्यवस्था छैन । ट्वाईलेट गयो पानी हुँदैन । फोहोर राख्ने डस्टवीन छैन । बिद्यालयहरुमा उचित वा सुबिधा सम्पन्न भान्छा हुँदैन । दिवा खाजा खुवाउने बिद्यालयमा हे¥यो भने प्रस्ट हुन्छ । भान्छा धुलाम्मे हुन्छ । भाडाकुडीहरु प्रफेक्ट सफा हुँदैनन् । चुल्हो धुवाँयुक्त हुनछन् । खाना÷खाजा खाने प्लेटहरु पनि राम्रोसँग सफा नगरेका पाईन्छन् । कति लाप्रवाह हुन्छ । कल्पना पनि गर्न सकिंदैन । अरु बिज्ञान प्रयोगशाला, पुस्तकालयहरु त अलि परैको कुरा हो ।

- अतिरिक्त कृयाकलापहरुको पनि विद्यार्थी आकर्षण गर्न निकै महत्वपुर्ण भूमिका हुन्छ । त्यस्ता कृयाकलापहरु कागमा मात्र सिमित छन् । हुने गरेता पनि औपचारिक्ताका लागि मात्र हुने गरेका छन् । कार्यक्रम अलि ब्यवस्थित तरिकाले गर्ने । त्यसको अभिलेखन गर्ने र त्यो भन्दा अझ राम्रो गर्ने । पृष्ठपोषण आदान–प्रदान गर्ने जस्ता कार्य हुँदैनन् । कार्यक्रमको नाममा औपचारिक्ता मात्र हुने गरेको छ । म कुनै नमुना भनिने बिद्यालयको अतिरिक्त कृयाकलाप अनतरगत वादविवाद कार्यक्रममा सहभागि हुने अवसर मिल्यो र उपस्थित भएँ । तर, उक्त कार्यक्रममा न बिषय बस्तुको शीर्षक मिलेको थियो । न विद्यार्थीले राम्रोसँग तयारी नै गरेका थिए । अच्चम लाग्यो । तर, कार्यक्रम सम्पन्न भयो । यसबाट बिद्यार्थीले के सिक्यो ?, अर्को कार्यक्र कसरी गर्ने ? भन्ने बिषयमा समिक्षा समेत भएन । यसरी सतही तरिकाले काम गर्ने प्रबृत्तीले बिद्यार्थीले नविनतम के सिक्छ ?

- शैक्षिक भ्रमण पनि अतिरिक्त कृयाकलापहरमा नै पर्दछ तर, शैक्षिक भ्रमण पनि त्यस्तै सतही ढंगले नै सम्पन्न गरिन्छ । थुप्रो पैसा खर्च हुन्छ तर, उपलब्धी शून्य जस्तै हुन्छ । बिषयगत शैक्षिक भ्रमण हुन जरुरी छ । जस्तो बिज्ञान बिषयको लागि छुट्टै, सामाजिक बिषयको लागि छुट्टै, भुगोल बिषयको छुट्टै, ईतिहास बिषयको छुट्टै खालको शैक्षिक भ्रमणहरु आयोजना हुनु पर्दछ । बिषयगत शैक्षिक भ्रमणको पनि आफ्नै बिधी प्रकृयाहरु विकास गरेर उपलब्धीपूर्ण शैक्षिक भ्रमण आयोजना गर्नु पर्दछ । एउटै शैक्षिक भ्रमणमा सबै कुरा समेट्दा उपलब्धी शून्य प्रयाय हुन्छ । किन भने बिद्यार्थीहरुलाई अन्योल सृजना हुन्छ । कुन बिषयमा बढी जोड दिने ? प्रतिवेदन कुन बिषयमा केन्द्रित भएर लेख्ने ? हेर्नुहोस त हाम्रो लापरबाही ?

- ईन्टरनेट पनि अधिकास बिदालयहरुमा छ । तर, त्यसको उपयोग कसरी हुन्छ ? कहिल्य हामीले अधययन गरेका छौं ? वास्तवमा ईन्टरनेट फेसबुक, ट्वीटर, लिङ्क ईन जस्ता प्रोग्रामहरु चलाएर बितेको हुन्छ । खोजमुलक, अनुसन्धानमुलक वेवसाईडहरु खोजेर सिक्ने सिकाउने चलन प्रयाय हुँदैन । सरहरु पनि त्यही, बिद्यार्थीहरु पनि त्यही । तर... तर ईन्टरनेटको काम त्यति त होईन होला ।

यति हुँदाहुँदै पनि विद्यालयको घेराबार पनि राम्रोसँग ब्यवस्थित गरिएको हुँदैन । बेला–बेला शिक्षकहरु बिदामा बस्ने, सार्वजनिक बिदा धेरै हुने, स्थानीय बिदा पनि धेरै हुने, समयमा पाठ्पुस्तक उपलब्ध नहुने, बिषयगत शिक्षकको कमी हुने, शिक्षकहरुलाई प्रयाप्त तालिमको अभाव हुने, तालिम प्राप्त गरिहाले पनि तालिममा सिकेका कुरा कक्षा कोठामा प्रयोग नहुने जस्ता थुप्रै–थुप्रै कारणले गर्दा हाल सामुदायिक बिदालयहरुमा वर्षेनी बिद्यार्थी घटेको हुन सक्छ र अर्को महत्वपुर्ण कुरा भनेको के भने अलि आर्थिक अवस्था राम्रो भएका अभिभावकहरुले निजी बिद्यालय रोज्नुले पनि यो समस्या आएको हो ।

यसको तत्काल समस्या समाधान देखिदैन । जबसम्म सोही बिद्यालयका शिक्षक, पदाधिकारीहरु, त्यस वडाका जन प्रतिनिधीहरुले आफ्नो बिद्यालयमा नै आफ्ना बालबालिका पढाउने नीति बन्दैन र यसो हुदैन तबसम्म सामुदायिक बिद्यालयहरु यही अवस्था मै रहन्छन ।

यसका लागि सरकारले नितीगत रुपमा नै यो व्यवस्था ल्याउन आवश्यक छ । के सामुदायिक विद्यालयमा गुणस्तर बढाउन सकिंदैन ? अवस्य सकिन्छ । यसका लागि सोँच बदल्नु आवश्यक छ । यसका लागि अध्ययन गर्न आवश्यक छ । यसका लागि छलफल गर्न आवश्यक छ । देशले केन्द्रदेखि स्थानीय स्तरसम्म शिक्षा क्षेत्र सुधारमा बैज्ञानिक बिचार ल्याउन जरुरी छ र शिक्षामा देशको कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट हरेक वर्ष बिनियोजन गर्न जरुरी छ ।

मनवीरका थप लेखहरु

के पढ्ने ? सोचौं !

प्रभावकारी तरिकाले पढ्ने बिधि

जे भएपनि आशा जगाएर पढौं पढाऔं

महामारीको बहानामा शैक्षिक शत्र खेर फाल्न पाईंदैन

कोरोना कहरले शिक्षा क्षेत्रमा दिएको सन्देश

छाउपडी कुप्रथा र सोह्र दिने लैगिंक हिंसा विरुद्धको अभियान

सिक्नका लागि संस्कार र उत्प्रेरणा