साक्षरता अभियान

स्थानीय तहको उदासिनता : बाँके अझैं निरक्षर

नेपालगन्जमै १५ हजार निरक्षर, फागुन मसान्तसम्म घोषणा गर्ने तयारी


स्थानीय तहको उदासिनता : बाँके अझैं निरक्षर

नेपालगन्ज २ पुष : जिल्लाका स्थानीय तहहरुको अधिक उदासिनताका कारण बाँके अझैपनि साक्षर जिल्ला घोषणा हुन सकेको छैन । २०७५ फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने भनिएपनि स्थानीय तहको लापरबाहीका कारण बाँके अझैं साक्षर हुन नसकेको हो ।

यसअघि बाँकेका चार स्थानीय तहले जर्बरजस्ती तहलाई साक्षर घोषणा गरेका छन् । तर, ती चार स्थानीय तहमा अझै विस्तृत तथ्यांक संकलन हुन सकेको छैन । बाँकेको कोहलपुर नगरपालिका, खजुरा, जानकी र राप्तीसोनारी गाउँपालिका यसअघि साक्षर तह घोषणा भइसके ।

बाँकेमै पहिलो साक्षर पालिकाका रुपमा २०७६ जेठ ३२ गते कोहलपुर नगरपालिकालाई घोषणा गरियो । बाँकेमै पहिलो साक्षर पालिकाका रुपमा कोहलपुर घोषणा भएपछि अन्य पालिकालाई समेत दवाव सिर्जना भयो । जसले गर्दा आवश्यक तयारी भन्दा पनि कागजीरुपमा पालिका साक्षर घोणना गर्नेतर्फ उन्मुख बाँकेका अन्य पालिकाले लगत्तै एक महिना पछि अर्थात २०७६ असार १४ गते खजुरा गाउँपालिकालाई साक्षर पालिकाका रुपमा घोषणा गरियो ।

२०७६ असार १९ गते जानकी र २०७६ असार २० गते राप्तीसोनारी गाउँपालिकालाई साक्षर तह घोषणा गरियो । तर, जिल्लामै थुप्रै सम्भावना बोकेको नेपालगन्ज उपमहानगरपालिकासहित, नरैनापुर, डुडुवा र बैजनाथ गाउँपालिका अझैं तथ्याक संकलन र तयारीमै अड्किएका छन् । नरैनापुर गाउँपालिकाले २०७८ वैशाख महिनाभित्रै गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारीका साथ काम अघि बढाएको जनाएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

आफैले तय गरेको समयअवधि सकिएपछि उसले पुनः २०७८ मंसिर मसान्तभित्र गाउँपालिकालाई साक्षर घोषणा गर्ने बताएको थियो । तर, मंसिर सकिएपनि गाउँपालिकालाई साक्षर घोषणा गर्ने कार्यक्रमले तिव्रता लिन सकेको छैन ।

यसैगरि बाँकेको बैजनाथ र डुडुवाले समेत गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने तयारी गर्दै आएको पटक–पटक बताएकोछ । तर, यी दुई पालिकाले समेत साक्षर पालिका घोषणाको निर्धारित मापदण्ड समयमै पुरा गर्न सकेको छैन ।

बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, जिल्ला र स्थानीय तहमा तदारुकताका साथ काम नहुँदा समयमै बाँके जिल्ला साक्षर घोषणा हुन सकेन ।

यसैबीच नेपालगन्जलाई साक्षर नगर घोषणा गर्नका लागि अभियान सञ्चालन गरिने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगन्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अबको एकसाता निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने बताए । साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका बाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । बाल विकास शिक्षकहरुलाई उप–महानगरपालिकाले साक्षरता कक्षा सञ्चालनका लागि आवश्यक सहजिकरण गरेको जानकारी दिदैँ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले साक्षरता अभियान निरन्तर सञ्चालनका लागि समेत पहल गर्ने बताए ।

नेपालगन्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान छ । उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सूचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताए । उप–महानगरपालिकाका शिक्षा अधिकृत भिमबहादुर बुढाले साक्षर उप–महानगरपालिका घोषणाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्न लागिएको बताउँदै आम नगरबासी लगायत सबैपक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

साक्षर नगरसँगै बाल विवाहमुक्त नगर घोषणा अभियान पनि सँगसँगै लैजान लागिएको उपमहानगरपालिकाले जनाएको छ । साक्षर उपमहानगरपालिका घोषण गर्न थुप्रै अवसरहरु रहँदै आएता पनि नेपालगन्ज जिल्लामा पछि परेकोछ ।

उपमहानगरपालिकाभित्र साक्षरताको दर कतिसम्म छ भन्ने यकिन तथ्यांक नहुनु, साक्षर उपमहानगरपालिकाका लागि आवश्यक गतिविधि प्रभावकारीरुपमा सञ्चालन गर्न नसक्नुले पनि उपमहानगरपालिकामाथि प्रश्न तेर्सीएकोहो । नेपालगन्ज उपमहानगरपालिका भन्दा कान्छो कोहलपुर नगरपालिका जिल्लामै पहिलो साक्षर नगरपालिका घोषणा भएपछि नेपालगन्ज उपमहानगरपालिकालाई टाउको दुखाई भएको हो ।

साविकका १७ वटा वडा र पछि थप गरिएका ११ गाविसका कारण नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर घोषणा गराउन समस्या रहेकोछ । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनुपर्ने प्रावधान रहेकोछ । स्थानीय पालिकाले आफ्नो कार्यक्षेत्र रहेका सबै निरक्षरलाई साक्षर गरेर यो मापदण्ड पुरा गरेपछि मात्र साक्षर घोषणा गर्न पाइन्छ । नेपालमा २०६५ देखि राष्ट्रिय साक्षरता अभियान सुरु भएको थियो ।

थप समाचार

‘कोहलपुर’ बाँकेकै पहिलो साक्षर नगरपालिका

खजुरा गाँउपालिका साक्षर घोषणा

जानकी गाँउपालिका साक्षर घोषणा

राप्तीसोनारी जिल्लाको चौथो साक्षर गाउँपालिका